जन आकाश
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाल पक्राउ परेको विषयमा सरकारमाथि प्रश्न उठाएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशनमा दाहाललाई पक्राउ गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।
उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिको नाम जोडेर प्रकाशित समाचारबारे टिप्पणी गरेकै आधारमा दाहाललाई पक्राउ गरिएको दाबी गरे। रिपोर्ट गलत भए सम्बन्धित पक्षले त्यसको खण्डन र स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ।
बस्नेतले भने, “भरत दाहालको गिरफ्तारीको कुरा छ, प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा उहाँ चिया खाइरहेको बेला पक्राउ गरियो। उहाँले ‘ग्रे जोन’का बारेमा बढी व्याख्या गर्नुभयो भनेर पक्राउ गरिएको भनिएको छ।”
उनले ‘ग्रे जोन’मा प्रकाशित रिपोर्ट गलत भए सरकारका सम्बन्धित पक्षले त्यसलाई तथ्यसहित खण्डन गर्नुपर्ने बताए। दाहाललगायत रिपोर्टबारे प्रश्न उठाउनेहरूलाई पक्राउ गर्नुले सरकारको शैलीमाथि प्रश्न उठाएको उनको आरोप छ।
बस्नेतले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कसले कस्तो भूमिका खेले भन्ने विषयमा ‘ग्रे जोन’मा रिपोर्ट प्रकाशित भएको दाबी गर्दै त्यसबारे प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सम्बन्धित व्यक्तिले जवाफ दिनुपर्ने बताए।
भरत दाहाललाई मोरङबाट पक्राउ गरिएको समाचार सार्वजनिक भएको छ। पक्राउको कारण र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend