logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

सशस्त्रका सईको हत्याका अभियुक्तलाई प्ररहीले २२ महिनापछि गोली हानेर समायो


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या गरेर फरार रहेका एक अभियुक्तलाई सिराहा प्रहरीले गोली हानेर पक्राउ गरेको छ।



पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्लाको ललमनियाँ गाउँका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन्। उनलाई असोज ३ गते साँझ करिब ७ः१० बजे सिराहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार २०८१ साल मंसिर १६ गते भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले गाडी रोकेर जाँच गर्न खोजेको थियो। त्यसक्रममा डीएल ५ सीजे ७१७१ नम्बरको गाडीका चालक मंसुरीले ड्युटीमा रहेका सई यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएर फरार भएका थिए। यादवको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि फरार रहेका मंसुरीलाई प्रहरीले करिब २२ महिनापछि पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा मंसुरीसहित तीन जनाले प्रहरी टोलीतर्फ एक राउन्ड गोली चलाएका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाउँदा मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको थियो।

गोली लागेका मंसुरीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend