जन आकाश
काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनबारे प्रकाशित गरेको रिपोर्ट सामाजिक सञ्जालमा फैलाएको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्।
दाहाललाई आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो।
राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल कार्यक्रम सकेर काठमाडौं फर्किने तयारीमा रहेका बेला पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।
दाहालले भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षकमा ‘ग्रे जोन’को रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेका थिए। उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा अन्य व्यक्तिहरूको अमेरिकी सहयोगमा सञ्चालित संस्था तथा परियोजनाहरूसँग सम्बन्ध रहेको दाबी गरिएको थियो।
प्रहरीका साइबर ब्युरोका सूचना अधिकारी दिलिपकुमार गिरीका अनुसार सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा दाहाललाई पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।
दाहाल पछिल्लो समय सरकारका गतिविधिबारे सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। उनका समर्थकहरूले भने पक्राउलाई राजनीतिक अभिव्यक्तिसँग जोडेर प्रश्न उठाएका छन्। प्रहरीले भने पक्राउको आधार साइबर ब्युरोमा परेको उजुरी र अदालतबाट प्राप्त अनुमतिलाई बनाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend