जन आकाश
काठमाडौं । राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०८३ असोज ५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल बास्केटबल संघ, नेपालया इन्टरनेशनल र प्याब्सनको संयुक्त आयोजनामा प्रतियोगिता असोज ५ देखि १३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ। विद्यालय तथा युवा तहमा बास्केटबलको बढ्दो आकर्षणलाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत यू–१६ तहका उत्कृष्ट खेलाडी पहिचान गरी थप प्रशिक्षण, मूल्याङ्कन तथा विकासको प्रक्रियामा समेटिनेछ। पहिचान भएका प्रतिभाबाट सक्षम यू–१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गराउने दीर्घकालीन लक्ष्यसमेत आयोजकले अघि सारेको छ।
विद्यालयलाई खेलाडी उत्पादनको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउने लक्ष्य आयोजकको छ। प्रतियोगिताले खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कारको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend