logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेसका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न, बाँकी वडामा आज अधिवेशन हुँदै


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै विधानअनुसार क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज ३ र ४ गते गरी दुई दिनमा ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो। अधिकांश वडामा सर्वसम्मत रूपमा कार्यसमिति गठन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको उनले बताए।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङसहित केही जिल्लाका वडामा भने अधिवेशन हुन बाँकी छ। सप्तरीका क्षेत्र नं. २ र ४, सिराहा, मोरङको क्षेत्र नं. ६, रौतहटको क्षेत्र नं. १, सर्लाहीको क्षेत्र नं. २ र परासीको क्षेत्र नं. २ मा पनि अधिवेशन बाँकी रहेको कांग्रेसले जनाएको छ।

शनिबार र आइतबार अधिवेशन हुन नसकेका वडामा सोमबार असोज ५ गते अधिवेशन जारी रहने बताइएको छ।

कांग्रेसले वडा अधिवेशनपछि क्रमशः पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी छ।

यसैबीच, वडा अधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी नभएको र देउवा पक्षले असोज १५ गते छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend