logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी, ऊर्जामन्त्री र अर्थमन्त्रीबीच सहमति


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । सरकारले विद्युत् खपत बढाउने उद्देश्यले बिजुलीमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।



ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग विद्युतमा लगाइएको भ्याट हटाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा अर्थमन्त्री वाग्ले सकारात्मक रहेको ती अधिकारीले बताए।

‘हामीले ऊर्जा खपत रणनीति २०८३ लागू गरेका छौँ। खपत बढाउनका लागि मूल्य धेरै हुनु भएन। यही हिसाबले ऊर्जामन्त्रीज्यूले अर्थमन्त्रीज्यूसँग भ्याट हटाउन प्रस्ताव गर्नुभएको हो। प्रस्तावमा अर्थमन्त्रीज्यू सकारात्मक हुनु भएको छ,’ ती अधिकारीले भने।

अब अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको जनाइएको छ। मन्त्रिपरिषद्को निर्णयपछि मात्रै भ्याट हटाउने व्यवस्था कार्यान्वयनमा आउनेछ।

‘भ्याटले उपभोक्तामाथि थप वित्तीय भार परेको छ। जतिसक्दो छिटो हटाउनुपर्छ भनेर अब उहाँले मन्त्रिपरिषद्मा लैजाने हुनु भएको छ,’ ती अधिकारीले भने।

सरकारले चालु आर्थिक वर्षदेखि विद्युतमा भ्याट लगाउन थालेको हो। हाल घरायसी ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था छ।

विद्युतमा भ्याट लगाउने निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले उक्त व्यवस्था हटाउने तयारी गरेको हो। ऊर्जा मन्त्रालयका ती अधिकारीका अनुसार विद्युतमा भ्याट हटाउने विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend