जन आकाश
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार लामाको शरीरको ९० प्रतिशत भाग जलेको हो।
घाइते लामालाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। उनले बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आफैं आगो लगाएको प्रारम्भिक विवरण छ।
लामाले आफ्नै बसमा किन आगो लगाए भन्ने कारण भने खुलिसकेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend