जन आकाश
काठमाडौं । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यससम्बन्धी औपचारिक सम्झौता एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा भएको छ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्।
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो। उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा मनोरञ्जनलगायतका गतिविधिसँग जोडिने आयोजकले जनाएको छ। एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ भने २ लाख ५० हजारभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताउनुभयो। एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनसँगै उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसर जोड्ने साझा मञ्च भएको उहाँको भनाइ छ।
एक्स्पो संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थप्ने बताउनुभयो। एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले पनि साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend