जन आकाश
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि कारबाही गर्ने भएको छ।
शिक्षकहरू राजनीतिक दलका गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न निर्देशन दिएका हुन्। उनले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत निर्देशन दिएका छन्।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न निर्देशन दिएको छ।
एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ। पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको विषयमा गहन निगरानी गर्न आग्रह गरिएको छ।
प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत शिक्षकका गतिविधि पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्नसमेत एकाइले स्थानीय तहलाई आग्रह गरेको छ।
त्यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ।
एकाइ प्रमुख तथा उपसचिव दिनेशप्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ। पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ। कारबाहीको विवरण शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend