logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पेट्रोलियम पदार्थको मूल्य नबढे यातायात भाडा पनि नबढ्ने व्यवसायी महासंघ


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताएका छन्।



यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वको समयमा मूल्यवृद्धि गर्न नहुने बताएका हुन्।

उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहे सार्वजनिक यातायातको भाडा वृद्धि गर्न आवश्यक नरहेको स्पष्ट पारे। राज्यले पेट्रोलियम पदार्थमा थप घाटा व्यहोर्नुपर्ने अवस्था आए पनि कम्तीमा एक महिनासम्म त्यसको भार उपभोक्तामाथि नथोपर्न उनले सरकारसँग आग्रह गरे।

सिटौलाले सरकारले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टरको नियमित अनुगमन गर्नुपर्ने बताए। बस, मिनीबस, माइक्रोबसलगायत सवारीसाधनको वर्गअनुसार सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनुपर्नेमा उनले जोड दिए।

उनले यात्रुलाई आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्दै तोकिएको भाडाभन्दा बढी रकम नतिर्न पनि सुझाव दिए।

उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ। नत्र तोकिएको ठाउँमा कुनै पनि हालतमा बढी भाडा लिइँदैन, तोकिएको भाडामै टिकट पाइन्छ।’

अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले ढिलाइ गरिरहेको आरोपसमेत लगाए। प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगिसकेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ।

उनले अनलाइन टिकटिङसम्बन्धी कार्यविधि तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे। प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनले बताए।

अग्रिम टिकट बुकिङ खोल्ने मिति तोक्न हतार गर्न आवश्यक नरहेको बताउँदै उनले सबै तयारी पूरा गरेर असोज १५ गतेभित्र टिकट बुकिङको मिति घोषणा गरिने जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend