logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेलेका रामेछापका दुई प्रहरी अधिकृत सम्मानित


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं ।  जिल्लाका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।



जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाबाट भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत पनि ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

प्रहरीका अनुसार वृद्धवृद्धालाई बन्धक बनाई चोरी तथा लुटपाट गर्ने गिरोह नियन्त्रणमा लिन उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। पशुपति श्रेष्ठको समूहका पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा थप आठ वटा आपराधिक घटनामा समेत उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। ती घटनाबारे थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, नशालु पदार्थ सेवन गराई सक्कली सुनका गहना चोरी गरी त्यसको स्थानमा नक्कली गहना लगाइदिने गिरोहलाई पक्राउ गर्न पनि उनीहरूको महत्वपूर्ण भूमिका रहेको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका क्रममा ६ जनाको संलग्नता पुष्टि भएको र उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको देखाउने गरी कृत्रिम कागजात तयार गर्ने व्यक्तिलाई समेत पक्राउ गरेको जनाएको छ। प्रविधिको प्रयोग गरी किर्ते लिखत तयार गरिएको उक्त घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

यसैगरी, सुरुमा भवितव्य ज्यानका रूपमा हेरिएको एक घटनामा थप अनुसन्धानका क्रममा महत्वपूर्ण सबुत तथा प्रमाण फेला पारेपछि घटनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा परिणत गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

विभिन्न घटनामा सूक्ष्म अनुसन्धान, प्रमाण संकलन तथा दोषी पहिचानमा देखाएको सक्रियताका आधारमा डीएसपी जैसवार र इन्स्पेक्टर राउतलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाइएको छ। पछिल्ला अपराध अनुसन्धानका उपलब्धिले रामेछाप प्रहरीप्रति नागरिकको विश्वास बढाउन सहयोग पुगेको प्रहरीको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend