जन आकाश
काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।
मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। उनको साथबाट भेटिएको लाइसेन्समा काभ्रेका २५ वर्षीय दावा लामाको नाम उल्लेख भए पनि दावा लामाले आफू सकुशल रहेको बताएपछि प्रहरीले मृतक चालकको वास्तविक पहिचानबारे अनुसन्धान गरिरहेको छ।
सोमबार त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको र चालक आफैँले बसमा आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाको वास्तविक कारण तथा विस्तृत अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend