logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

मलेसियामा ‘सिन्डिकेट’ र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री शाहको आग्रह


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मंगलबार टेलिफोन वार्ता गरेका छन्।



वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र बिचौलिया प्रथाप्रति असन्तुष्टि जनाउँदै यस्तो व्यवस्था कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शाहले उक्त समस्या स्थायी रूपमा समाधान गर्न दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल आवश्यक रहेको बताएका छन्। उनले मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग वार्ता गरी समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहको प्रस्तावलाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले सकारात्मक रूपमा लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै मलेसियाली श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी ठोस समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्लो समय मलेसियाले नेपालसँग समन्वय नगरी सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक लैजाने प्रक्रिया अघि बढाएको भन्दै विवाद उत्पन्न भएको छ।

मलेसियाले सुरुमा २५ वटा म्यानपावर कम्पनी सूचीकृत गरेकोमा ती कम्पनीको रोहबरमा रहने गरी थप २५० संस्था राखेर जम्मा २७५ संस्थामार्फत मात्रै श्रमिक लैजाने व्यवस्था अघि बढाएको बताइएको छ।

नेपालका वैदेशिक रोजगार व्यवसायीहरूले मलेसियाको यस्तो प्रक्रियालाई सिन्डिकेटको संज्ञा दिँदै विरोध गर्दै आएका छन्। यस विषयमा नेपाल र मलेसियाबीच थप छलफल आवश्यक देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend