logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

त्रिपुरेश्वर बस आगलागीमा घाइते अर्जुन दोङको मृत्यु, आफन्त सडकमा


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा घाइते भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र समर्थक सडकमा उत्रिएका छन्।



ट्राफिक प्रहरीसँगको विवादपछि दोङले गाडीमा आगो लगाएका थिए। आगलागीमा परी गम्भीर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

दोङको मृत्युको खबर सार्वजनिक भएपछि आक्रोशित आफन्त, यातायात व्यवसायी तथा समर्थक अस्पताल परिसरमा भेला भएका छन्। उनीहरूले घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी दोषी देखिएका पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले घटनाको जिम्मेवार पक्ष पहिचान गरी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन्।

अस्पताल परिसरमा प्रदर्शन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका परिवार, स्थानीय प्रशासन तथा सम्बन्धित पक्षबीच घटनाबारे छलफल र संवादको प्रयास भइरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend