जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौला ‘ज्वाला’ले २९ वर्षदेखि अलपत्र अवस्थामा रहेको बुढीगंगा जलविद्युत आयोजना कहिले सम्पन्न हुन्छ भन्दै सरकारलाई प्रश्न गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सुदूरपश्चिमका नागरिक दशकौँदेखि अन्धकारमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले सुदूरपश्चिमका जनताको अन्धकार र विकासको अवस्थाबारे सदनमा पर्याप्त बहस हुन नसकेको गुनासो गरिन्। उनले भनिन्, ‘सदनमा बेलाबेला प्रधानमन्त्रीको कालो चश्माको विषयमा बहस हुन्छ, तर सुदूरपश्चिमका जनताको भाग्यमा सिंहदरबारले बाँधेको कालो पट्टी र अन्धकारको विषयमा कहिल्यै बहस हुँदैन।’
२० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजना लामो समयदेखि निर्माणको प्रतीक्षामा छ। अछाम र बाजुराको सीमाक्षेत्रमा बग्ने बुढीगंगा नदीबाट उत्पादन हुने विद्युतको आशामा रहेका स्थानीयमध्ये अझै धेरै बस्ती विद्युतको पहुँचबाट टाढा रहेको सांसद संग्रौलाले बताइन्। उनले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई आयोजना कहिले सम्पन्न हुन्छ भन्दै प्रश्न गरिन्।
‘मन्त्रीज्यू, चार पटक ठेक्का लागेको बुढीगंगा जलविद्युत आयोजनाको निर्माण कार्य कहिले तीव्र गतिमा सम्पन्न गरेर बत्ती बालेर उद्घाटन गर्न अछाम जानुहुन्छ?’ उनले प्रश्न गरिन्। सांसद संग्रौलाले आयोजना निर्माणमा थप ढिलाइ नगरी तत्काल कामलाई तीव्रता दिन सरकारसँग माग गरिन्।
उनले एउटा पुस्ता बुढीगंगा आयोजना बन्ने आशामै बितिसकेको भन्दै अझै पनि सुदूरपश्चिमका नागरिक ‘बत्तीमुनिको अँध्यारो’मा बस्नुपर्ने अवस्था लज्जास्पद भएको बताइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend