logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको माध्यम बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले


  • जन आकाश
  • बुधबार, असोज ७ २०८३

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई देशभित्रको बचत परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।



बुधबार प्रतिनिधिसभामा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वाग्लेले सर्वसाधारणको रकम जोडिएकाले कोषको लगानीमा जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले अपेक्षित लगानीका लागि नेपालको आन्तरिक बचत मात्र पर्याप्त नहुने भन्दै आन्तरिकसँगै बाह्य स्रोतसमेत परिचालन गर्नुपर्ने अवस्था रहेको बताए।

वाग्लेले गत वर्ष करिब १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको तर चालु आर्थिक वर्षमा २ हजार १२४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकाले स्रोत परिचालनमा ठूलो अन्तर रहेको उल्लेख गरे। यस्तो अवस्थामा नागरिक लगानी कोषलगायत संस्थामार्फत आन्तरिक बचत परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

सर्वसाधारणको रकम परिचालन गर्ने सार्वजनिक संस्थाले अत्यधिक जोखिम लिन नहुने भन्दै उनले लगानीको सीमा, क्षेत्रगत लगानी, परियोजना छनोट तथा स्वार्थ बाझिने अवस्थालाई नियन्त्रण गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताए।

सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायत संस्थाबीचको समन्वय तथा एकीकरणसम्बन्धी सुझावबारे वाग्लेले ती संस्थाका उद्देश्य फरक भए पनि एकअर्काका पूरक रहेको धारणा राखे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend