जन आकाश
काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबारदेखि आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने भएकाले सम्भावित विपद्बाट जोगिन आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्छ। सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले नदी किनार, भिरालो तथा पहिरोको जोखिम भएका क्षेत्र र डुबान सम्भावित स्थानमा विशेष सावधानी अपनाउन भनिएको छ।
विपद्को जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न र अति आवश्यक नपरी लामो दूरी तथा रातिको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ।
प्रदेश सरकार मातहतका निकाय, स्थानीय तह तथा सुरक्षा संयन्त्रलाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend