जन आकाश
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
सांसद बुढाथोकीले विधेयक समयसापेक्ष र महत्वपूर्ण हुने दाबी गर्दै अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयकले भुक्तानी तथा फर्छ्यौट प्रणालीमा देखिएका व्यावहारिक कठिनाइ तथा कानुनी अस्पष्टता सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्नेछ।
भुक्तानी प्रणाली रकम हस्तान्तरणको माध्यम मात्र नभई बचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधारसमेत भएको उनले बताए।
उनले सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउने तथा कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे।
विधेयकमा सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरणलगायतका प्रावधानले भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ।
साथै, डिजिटल कारोबारको दायरा बढ्दै गएको अवस्थामा साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्कको सुरक्षा र प्रभावकारी नियमनलाई विधेयकले प्राथमिकतामा राख्नु सकारात्मक रहेको सांसद बुढाथोकीले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend