logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कास्कीमा उच्च सतर्कता : रात्रि बसदेखि पदयात्रा र साहसिक गतिविधिसम्म रोक


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ।



सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले यातायात, पर्यटन, विद्यालय तथा नागरिक गतिविधिका लागि विभिन्न मापदण्ड लागू गरेको हो।

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न क्षेत्रगत निर्देशन दिएको छ। मौसम प्रतिकूल रहेको अवस्थामा कास्कीबाट अन्य जिल्लातर्फ छुट्ने रात्रि बस तथा सवारीसाधन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिए।

त्यस्तै, जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक तथा निजी सवारीसाधन दिउँसो ४ बजेपछि सञ्चालनमा रोक लगाइएको छ। भारी वर्षाको सम्भावना कायमै रहेसम्म कास्की जिल्लाभित्रका सबै पदयात्रा पनि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।

हाल पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा फिर्ता ल्याउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालगायतलाई निर्देशन दिइएको छ।

जिल्लामा बन्जी जम्प, प्याराग्लाइडिङ, कायाकिङ, जिपलाइनलगायत साहसिक खेल तथा पोखराका फेवाताल र बेगनासतालमा सञ्चालन हुने डुङ्गा, सर्फिङलगायत जल पर्यटनका गतिविधि पनि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ।

स्थानीय तहलाई आफ्नो क्षेत्रका जोखिमयुक्त नदी तटीय बस्तीमा पूर्वसूचना प्रवाह गर्न, सुरक्षित स्थान पहिचान गरी आवश्यक परेमा बासिन्दालाई स्थानान्तरणको तयारी गर्न तथा जोखिमको अवस्था हेरी विद्यालय बन्द गर्न अधिकार दिइएको छ। स्थानीय तहका आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा डोजर, जेसीबी लगायतका उपकरणलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

आपत्कालीन अवस्थाका लागि जिल्लास्थित अस्पताल, एम्बुलेन्स, शववाहन तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए। उद्धारका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् खोज तथा उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले आम नागरिकलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाको अवधिभर खोला तथा नदी किनारमा माछा मार्न, पौडी खेल्न, नुहाउन, लुगा धुन, वस्तुभाउ चराउन तथा गिटी–बालुवा निकाल्न नजान प्रशासनले अनुरोध गरेको छ।

त्यस्तै, अभिभावकलाई बालबालिकाको विशेष निगरानी गर्न तथा अत्यावश्यक कामबाहेक लामो र छोटो दूरीको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend