logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

लामो समय आबद्ध रहेको एमाले नै किन छाडे दैलेखका युवा नेता नवीन योगीले


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । नेकपा (एमाले)मा लामो समयदेखि विद्यार्थी राजनीतिमार्फत सक्रिय रहँदै आएका दैलेखका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन्। दैलेखमा युवामाझ परिचित योगीले सामाजिक सञ्जालमार्फत एमालेसँगको आफ्नो राजनीतिक यात्रा टुंग्याएको जानकारी दिएका हुन्। दलको राजनीतिभन्दा नीति र विचारको राजनीतिलाई प्राथमिकता दिँदै आएका योगीले एमालेभित्र युवा नेतृत्व विकास तथा पुस्तान्तरण अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै पार्टीबाट अलग भएको बताएका छन्।



दैलेखको भौगोलिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे अध्ययन र चासो राख्दै आएका योगी लामो समयदेखि जिल्लाको युवा राजनीतिमा सक्रिय थिए। उनी दैलेख पञ्चकोशी विकास समन्वय समितिका संयोजकसमेत हुन्। दैलेख धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पहिचान बोकेको जिल्ला भएकाले यसको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि योगीले सक्रिय भूमिका खेल्दै आएका छन्। जिल्लाका धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका थिए। युवा पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने तथा नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको धारणा राख्दै आएका योगीको एमालेबाट बाहिरिने निर्णयले जिल्लाको पार्टी राजनीतिमा चर्चा बढाएको छ।

योगीले पार्टी परित्याग गर्नुको कारणका रूपमा युवा नेतृत्व विकास र पुस्तान्तरणको विषयलाई मुख्य रूपमा उठाएका छन्। यद्यपि, उनले आगामी राजनीतिक यात्रा भने तत्काल कुनै दलसँग जोडिएको रूपमा सार्वजनिक गरेका छैनन्।

पार्टी परित्यागको घोषणा गरेपछि योगीलाई विभिन्न राजनीतिक दल तथा समूहबाट चासो देखाइएको चर्चा दैलेखमा हुन थालेको छ। विशेषगरी नयाँ राजनीतिक शक्तितर्फ उनको सम्भावित यात्राबारे सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्। तर, योगीले आफू कुन पार्टीमा जाने भन्नेबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

युवामाझ लोकप्रिय मानिएका योगीको एमाले परित्यागले जिल्लाको पार्टीभित्र युवा नेतृत्व, पुस्तान्तरण र संगठनमा नयाँ पुस्ताको भूमिकाबारे बहससमेत सिर्जना गरेको छ। उनको आगामी राजनीतिक निर्णयले दैलेखको युवा राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend