जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई तोकिएको दिन संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका हुन्।
सूचनाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।
मुख्य सचेतक बुर्लाकोटीले समूह निर्धारण नगरिएका सांसदसमेत संसद् बैठकमा उपस्थित हुनुपर्ने स्पष्ट पारेका छन्। विशेष अवस्थाबाहेक संसद् बैठकमा उपस्थित हुनु सबै सांसदका लागि सधैँ बाध्यकारी हुनुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि सांसदहरूले आलोपालो समय मिलाउनुपर्ने निर्देशन दिइएको छ।
कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने रास्वपा संसदीय दलले जनाएको छ।
संसद् बैठकमा सांसदहरूको उपस्थिति थप व्यवस्थित बनाउन समूहगत तालिका निर्धारण गरिएको मुख्य सचेतक बुर्लाकोटीले बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend