जन आकाश
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका क्रममा पीडितको अनुमतिविना तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्य रोक्न आग्रह गरेकी हुन्। उनले विशेषगरी बालबालिकाको अधिकार, सुरक्षा र गोपनीयतामा विशेष ध्यान दिन सबैलाई आग्रह गरिन्।
मन्त्री वादीका अनुसार हालसम्म बाढीबाट प्रभावित ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेका छन्। उद्धार कार्यमा खटिएका १५५ कर्मचारी तथा सुरक्षाकर्मीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ।
विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाको भूमिकाबारे जानकारी दिँदै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृतिको प्रक्रिया थप द्रुत बनाइएको बताइन्। उनका अनुसार भदौ १५ यता १४९ नयाँ परियोजना स्वीकृत भएका छन्।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ५० करोड ४२ लाख रुपैयाँ तथा राष्ट्रिय गैरसरकारी संस्थामार्फत २० करोड ५७ लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री परिचालन भएका छन्।
राहत वितरणका क्रममा पीडितको अपमान हुने गतिविधि नगर्न आग्रह गर्दै मन्त्री वादीले ‘पीडितलाई सहयोग गर्दा उनीहरूको घाउमा नुन थप्ने होइन, घाउ निको पार्ने वातावरण बनाउनुपर्छ’ भन्ने धारणा राखिन्।
उनले विशेषगरी बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर, भिडियो वा अन्य सामग्री सार्वजनिक नगर्न तथा महिला र विपद् प्रभावितलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरिन्।
विपद्को अवस्थालाई आपराधिक गतिविधिका लागि प्रयोग हुन नदिन मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत सरकारले निगरानी बढाएको मन्त्री वादीले जानकारी दिइन्। गृह मन्त्रालय र नेपाल प्रहरीसँगको समन्वयमा सीमा नाका तथा होल्डिङ सेन्टरहरूमा निगरानी बढाइएको उनले बताइन्।
मन्त्रालयले तत्कालीन राहत र उद्धारसँगै प्रभावित नागरिकको पुनर्स्थापना, जीविकोपार्जन र दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend