logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको चेतावनी


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन्।



शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको मुख्य उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन्।

नेपालमा पछिल्लो समय विश्वविद्यालय स्थापना गर्ने प्रतिस्पर्धा बढेको तर आवश्यक गुणस्तरीय पठनपाठनको अभाव कायमै रहेको उनले बताए। विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री वितरण गर्ने संस्थाका रूपमा विकास गर्न नहुने उनको धारणा छ।

त्यस्तो अभ्यासले प्रयोगशालाको मूल उद्देश्य नै कमजोर पार्न सक्ने भन्दै मन्त्री पुनले विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई शैक्षिक उपाधि वितरण र आर्थिक लाभसँग जोड्न नहुने बताए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत अनुसन्धानमा केन्द्रित हुनुपर्ने संस्थाहरू पनि पठनपाठन र डिग्री प्रदान गर्ने दिशामा जानु उपयुक्त नभएको उनले बताए। पठनपाठनका लागि देशभर पर्याप्त विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले अनुसन्धानमूलक संस्थाहरूलाई आफ्नो मूल काममै केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन,’ मन्त्री पुनले भने, ‘विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन।’

विधि विज्ञान प्रयोगशालाले आवश्यक परे शैक्षिक संस्थासँग सहकार्य गरी अध्ययन–अनुसन्धानमा योगदान गर्न सक्ने भए पनि आफैं विश्वविद्यालयको स्वरूपमा पठनपाठन सञ्चालन गर्न नहुने मन्त्री पुनले बताए।

उनले विधि विज्ञान अनुसन्धानलाई राज्यको अनुसन्धान प्रणालीसँग जोड्दै प्रयोगशालाको क्षमता, प्रविधि र जनशक्ति विकासमा प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend