logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

संसद् भवनमै क्यान्टिन तत्काल सञ्चालन गर्न रास्वपा सांसद भण्डारीको माग


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले निर्माणाधीन संघीय संसद् भवनको बरन्डामै भए पनि तत्काल क्यान्टिन सञ्चालन गर्न माग गरेका छन्।



प्रतिनिधिसभाको बैठकमा बोल्दै भण्डारीले संसद् भवनबाट बाहिर जान सचेतकले रोक लगाउने भएकाले सांसदहरूलाई खाना तथा खाजाका लागि समस्या भएको बताए। क्यान्टिन सञ्चालन नहुँदा सांसदहरू भोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ। क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी छ। नत्र सचेतकले फोन वा म्यासेज गरिहाल्नुहुन्छ। कतिखेर कहाँ हो भन्नुहुन्छ। बाहिर जाऊँ भने पनि भएन, भोकभोकै बस्नुपर्ने अवस्था आयो,’ भण्डारीले भने।

उनले संसद् परिसरमै तत्काल केही वैकल्पिक व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण गराए। निर्माणाधीन संसद् भवनमा यसअघि सोल्टी होटलले अस्थायी रूपमा क्यान्टिन सेवा सञ्चालन गर्दै आएको थियो। तर रास्वपा सांसद खगेन्द्र सुनारले क्यान्टिनमा खानेकुरा तथा पेय पदार्थको मूल्य महँगो भएको विषय संसद् बैठकमै उठाएपछि सोल्टीले सेवा रोकेको हो।

सांसद भण्डारीले सोल्टीलाई नै क्यान्टिन सञ्चालन गर्न दिए पनि मूल्य समायोजन गरेर सस्तो खानेकुराको व्यवस्था गर्नुपर्ने बताए।

‘उहाँ (सोल्टी)लाई नै दिए पनि हुन्छ। तर रेटमा कम्प्रोमाइज र सस्तो आइटमको केही व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘नत्र माननीयको तलबले घरभाडा तिर्ने हो कि, यता–उता हिँड्ने हो कि बसभाडा तिर्ने हो। क्यान्टिन पनि महँगो भयो।

संघीय संसद् सचिवालयमा क्यान्टिन सञ्चालनको विषय नयाँ भने होइन। यसअघि क्यान्टिन सञ्चालन गरिरहेको ल्याण्डमार्कले असार मसान्तमा सेवा बन्द गरेको थियो। उसले केही खाद्य सामग्रीको मूल्य समायोजन गर्न आग्रह गरे पनि संसद् सचिवालयले मूल्य समायोजन गर्न नमानेपछि नयाँ टेन्डर प्रक्रियामा जाने निर्णय गरेको थियो।

क्यान्टिन बन्द भएपछि संसदीय समिति तथा अन्य बैठकमा चिया–खाजा उपलब्ध गराउनसमेत समस्या भएपछि सचिवालयले अघिल्लो टेन्डरमा सहभागी सोल्टी होटललाई अस्थायी रूपमा सेवा सञ्चालनको जिम्मेवारी दिएको थियो।

सोल्टीले संसद् सचिवालय परिसरमा रहेको क्यान्टिनबाट खानेकुरा तयार गरी निर्माणाधीन संसद् भवनमा सेवा दिँदै आएको थियो। साथै त्यहाँ कफी मेसिन राखेर कफी तथा बेकरीका सामग्रीसमेत बिक्री गर्दै आएको थियो।

क्यान्टिनको सम्झौतामा रहेका मेनुको मूल्य परिवर्तन गर्न नपाइने भए पनि नयाँ खाद्य सामग्री थप्दा सञ्चालकले मूल्य निर्धारण गर्न सक्ने प्रावधान रहेको बताइएको छ। यही व्यवस्थाअनुसार सोल्टीले मेसिनबाट बनाइने कफी तथा बेकरी सामग्रीका लागि छुट्टै मूल्य निर्धारण गरेको थियो।

क्यान्टिन सञ्चालनमा संसद् सचिवालयले पनि फरक किसिमको चुनौती सामना गर्दै आएको छ। एकै दिन धेरै संसदीय समितिका बैठक सञ्चालन हुने र संसद् बैठकसमेत रातिसम्म चल्न सक्ने भएकाले पर्याप्त जनशक्ति, खाद्य सामग्रीको स्टक तथा गुणस्तरीय सेवा दिन सक्ने होटल वा रेस्टुरेन्टलाई टेन्डरमा सहभागी गराउने सचिवालयको उद्देश्य रहेको बताइएको छ।

तर ठूला होटल तथा रेस्टुरेन्टको सेवा तुलनात्मक रूपमा महँगो हुने भएकाले क्यान्टिनको मूल्यमा पटक–पटक विवाद हुने गरेको छ।

संसद् सचिवालयका अनुसार क्यान्टिन सबै तहका कर्मचारी, सुरक्षाकर्मी, सांसददेखि विशिष्ट पदाधिकारीसम्मले प्रयोग गर्ने भएकाले मूल्य र सेवाबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण बनेको छ। संसद् सचिवालयले नयाँ क्यान्टिन सञ्चालनका लागि असोज १३ गतेसम्मको समयसीमा राखेर टेन्डर आह्वान गरेको छ। नयाँ टेन्डर स्वीकृत भएपछि क्यान्टिनको सञ्चालक परिवर्तन हुनेछ।

हाल सोल्टी होटलले तीन महिनाका लागि अस्थायी रूपमा क्यान्टिन सञ्चालनको जिम्मेवारी पाएको बताइएको छ। यसअघि सभामुख डोलप्रसाद अर्यालले समेत संसद् क्यान्टिनको समस्या समाधानका लागि चासो देखाउँदै इच्छुक होटल तथा संस्थालाई सेवा सञ्चालन गर्न दिन सकिने सुझाव दिएका थिए।

काठमाडौं र पोखरामा होटल सञ्चालन गर्दै आएको बराही होटलले समेत संसद् क्यान्टिन सञ्चालनमा चासो देखाएको बताइएको छ। नयाँ टेन्डर प्रक्रियामा बराहीसहित अन्य इच्छुक कम्पनी तथा होटल सहभागी हुने सम्भावना रहेको छ।

यसबीच सांसदहरूले भने तत्कालका लागि भए पनि संसद् परिसरमै खाना र खाजाको व्यवस्था गर्न माग गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend