जन आकाश
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ। बुधबार महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजेश्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्। यद्यपि युद्ध अन्त्यका लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न इरान सधैँ तयार रहेको उनले बताए।
महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै पेजेश्कियानले त्यसलाई ‘दादागिरीको मानसिकता’ भएको टिप्पणी गरे। उनले अमेरिकी दबाबसामु इरानी जनता नझुक्ने बताए।
पेजेश्कियानले अमेरिकाले इरानलाई आतंकवाद प्रायोजन गर्ने मुलुक भन्दै आएकोप्रति पनि आपत्ति जनाए। उनले आफूहरूलाई आतंकवादी भन्नेहरूले नै आतंकवादीलाई तालिम दिने गरेको आरोप लगाए।
उनले इरान र अमेरिकाबीचको तनाव वार्तामार्फत समाधान गर्न आफ्नो देश तयार रहेको दोहोर्याउँदै शक्तिको भाषा भने स्वीकार गर्न नसकिने बताए। पेजेश्कियानले सम्बोधन सुरु गरेपछि अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरू सभाकक्षबाट बाहिरिएका थिए।
सम्बोधनका क्रममा पेजेश्कियानले युद्धका क्रममा सर्वसाधारण मारिएको आरोप लगाउँदै त्यससँग सम्बन्धित तस्बिरहरू पनि प्रस्तुत गरेका थिए। तीमध्ये इरानको मिनाबस्थित प्राथमिक विद्यालयका छात्राहरूको तस्बिरसमेत थियो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेको केही घण्टापछि मिनाबको प्राथमिक विद्यालयमा मिसाइल प्रहार भएको र त्यसमा १७५ भन्दा बढी बालबालिका तथा शिक्षक मारिएको दाबी गरिएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाको प्रारम्भिक आन्तरिक अनुसन्धानले उक्त आक्रमणमा अमेरिकी सेना जिम्मेवार रहेको सम्भावना देखाएको थियो। यद्यपि पेन्टागनले अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको छैन।
परमाणु कार्यक्रमबारे पेजेश्कियानले इरानले परमाणु हतियार बनाउन नचाहेको तर शान्तिपूर्ण परमाणु कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकार भने नछाड्ने बताए। उनले इरानले परमाणु हतियार र परमाणुसम्बन्धी ज्ञान दुवै त्याग्न नसक्ने धारणा राखे।
यसैबीच, अमेरिका–इरान तनावको अर्को प्रमुख केन्द्र हर्मुज जलमार्ग बनेको छ। विश्वको ठूलो हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने यो रणनीतिक जलमार्गमा विदेशी सैन्य उपस्थितिको पेजेश्कियानले विरोध गरेका छन्।
इरानले हर्मुज जलमार्ग पुनः खोल्नका लागि आफ्ना सर्तहरू मध्यस्थमार्फत अमेरिकासमक्ष पठाएको इरानी स्रोतहरूले रोयटर्सलाई बताएका छन्।
पेजेश्कियानले हर्मुज जलमार्ग सबैका लागि खुला हुनुपर्ने बताउँदै त्यहाँ स्थायी रूपमा शत्रुतापूर्ण सैन्य बेडा तैनाथ गर्नु र युद्ध विस्तार गर्नुले शान्ति ल्याउन नसक्ने धारणा व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend