logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । दाङकी एक १२ वर्षीया बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ।



बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया आयशा परविनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन्।

सांसद सिद्दिकीका अनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाएपछि स्वास्थ्यमा जटिलता देखिएको थियो। गम्भीर बिरामी भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनसम्म भेन्टिलेटरसहितको आईसीयूमा उपचार गरिएको उनले सदनलाई जानकारी गराइन्।

हाल बालिका घर फर्किए पनि हातखुट्टा चलाउन नसक्ने अवस्थामा रहेको सांसद सिद्दिकीले बताइन्। उनले घटनाको वास्तविक कारणबारे छानबिन गरी पीडित परिवारलाई आवश्यक उपचार तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग माग गरिन्।

यसैगरी, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरिन्।

उनले मुलुकमा बढिरहेको महँगी, नागरिकले भोगिरहेको आर्थिक संकट र आत्महत्याका घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराइन्।

‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन्। आत्महत्याका घटना किन बढिरहेका छन्? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदैछ?’ उनले प्रश्न गरिन्।

सरकार देशको जिम्मेवार अभिभावक भएकाले नागरिकका समस्याबारे ठोस योजना र जवाफसहित प्रस्तुत हुनुपर्ने सांसद सिद्दिकीको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend