logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जेन–जी आन्दोलनमा पक्राउ परेका युवालाई दशैँअघि रिहा गर्न स्मृति सेञ्चुरीको माग


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छन्।



बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सेञ्चुरीले कानुनसम्मत प्रक्रिया पूरा गरेर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

आन्दोलनमा सहभागी भएकै आधारमा तथा क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई लामो समयसम्म थुनामा राखिएको भन्दै उनले सरकारको प्रक्रियामाथि प्रश्न उठाइन्।

केही दिनअघि प्रतिनिधि सभामा एक शहीदकी आमाले न्यायका लागि बगाएको आँसुको प्रसंग स्मरण गर्दै सेञ्चुरीले बन्दी युवाका परिवारको अवस्थाप्रति पनि सरकारले संवेदनशील हुनुपर्ने बताइन्।

‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन्,’ उनले भनिन्, ‘हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्‍यायौँ र सरकारको ध्यानाकर्षण गरायौँ, तर यो विषय अझै किन टुंगिएन?’

सरकारको प्रक्रिया कहाँ अड्किएको हो र कसको निर्णयको प्रतीक्षा भइरहेको हो भन्ने विषय तत्काल स्पष्ट पार्न उनले माग गरिन्।

दशैँको समयमा देशभर खुसीयाली छाउने भए पनि केही परिवार आफ्ना सन्तान घर फर्किने प्रतीक्षामा रहेको भन्दै सेञ्चुरीले मानवीय संवेदनालाई समेत ध्यानमा राखेर कानुनसम्मत रूपमा रिहाइको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend