जन आकाश
काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिले उजुरी दिनका लागि १० दिनको समय तोकेको छ।
समितिका अनुसार प्रस्तावित राजदूतका सम्बन्धमा कुनै गुनासो, सूचना वा उजुरी भएमा स्पष्ट आधारसहित तोकिएको समयभित्र विद्युतीय वा अन्य माध्यमबाट दर्ता गर्न सकिनेछ।
प्राप्त उजुरी तथा सूचनाको अध्ययनपछि समितिले प्रस्तावित राजदूतहरूसँग प्रत्यक्ष छलफल तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
सरकारले गत शुक्रबार भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो।
संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend