logo शुक्रबार, असोज ९ २०८३ | Friday 25th September 2026

पाँच दिन बाढीको जोखिम बढ्ने, १४ जिल्लाका साना खोलामा उच्च जोखिम


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी पाँच दिन देशभरका प्रमुख नदी तथा साना खोलानालामा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। शाखाले कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका नदी तथा तिनका सहायक नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।



शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टका अनुसार असोज ८ देखि १२ गतेसम्म देशका प्रमुख जलाधार क्षेत्रमा बाढीको जोखिम क्रमशः बढ्दै जानेछ।

कोशी जलाधारअन्तर्गत सप्तकोशी चतरामा पाँचै दिन जलसतह उल्लेख्य बढ्नेछ। बिहीबार जोखिम सामान्य रहे पनि शुक्रबार र शनिबार मध्यम तहमा पुग्ने अनुमान छ। तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा पानीको सतह बढे पनि जोखिम सामान्य रहने पूर्वानुमान गरिएको छ।

नारायणी जलाधारअन्तर्गत देवघाटमा बिहीबार सामान्य रहेको जलसतह शुक्रबारदेखि आइतबारसम्म मध्यम जोखिमको तहमा पुग्नेछ। त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र बडिगाडमा पनि शुक्रबार र शनिबार बाढीको जोखिम मध्यम रहनेछ।

बडिगाड–रुद्रबेनी र कालीगण्डकी–कुमालगाउँ क्षेत्रमा भने शनिबार असोज १० गते बाढीको जोखिम उच्च रहने शाखाले जनाएको छ। यी क्षेत्रमा यात्रा गर्ने तथा नदी–खोलाको आसपास बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

कर्णाली जलाधारमा पनि जोखिम बढ्ने देखिएको छ। कर्णाली चिसापानीमा शनिबार र आइतबार उच्च जोखिम रहनेछ। ठूलीभेरी रिम्ना क्षेत्रमा पनि शनिबार र आइतबार उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ। पश्चिम सेती र कर्णाली असाराघाटमा शुक्रबार मध्यम जोखिम रहनेछ। महाकाली नदीमा शनिबार र आइतबार मध्यम जोखिम रहनेछ।

बागमती र पूर्वी राप्तीमा शुक्रबार मध्यम जोखिम रहनेछ। पूर्वी राप्तीमा शनिबारदेखि सोमबारसम्म जलसतह उल्लेख्य बढ्ने र मध्यम जोखिम कायम रहनेछ। बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पनि शुक्रबार मध्यम जोखिम रहनेछ भने असोज १० र ११ गते केही क्षेत्रमा जोखिम उच्च तहमा पुग्ने अनुमान छ।

यसैबीच, देशभरका साना खोलानालामा पनि आकस्मिक बाढीको जोखिम बढेको छ। बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै जिल्लाका साना खोलामा मध्यम जोखिम रहेको छ। पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान र दाङका साना खोलामा भने उच्च जोखिमको चेतावनी जारी गरिएको छ।

शुक्रबारदेखि शनिबारसम्म गुल्मी, पर्वत, बागलुङ, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, बाँके, बर्दिया, सुर्खेत र दैलेख गरी १४ जिल्लाका साना खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको शाखाले जनाएको छ।

शाखाले बाढीको जोखिम रहेका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा नदी, खोला र तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। बाढीसम्बन्धी पछिल्लो जानकारी जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा हरेक बिहान ८ बजे प्रकाशित हुने बुलेटिन, विभागको फेसबुक पेज तथा टोल फ्री नम्बर ११५५ मार्फत २४ घण्टा लिन सकिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend