जन आकाश
काठमाडौं । सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बीपी राजमार्गको काभ्रे खण्डमा चार दिनसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेको बैठकले असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा ठूलो वर्षा हुनसक्ने भएकाले सम्भावित बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गर्दा दिनको समयमा समेत सवारी सञ्चालन रोक्नुपर्ने अवस्था देखिए जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको छ।
निर्णय कार्यान्वयनमा सहजीकरण गर्न सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत अनुरोध गर्ने निर्णय भएको अधिकारीले बताए।
त्यस्तै, नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरिएको छ। यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने निर्णय भएको छ।
सम्भावित विपद्को समयमा तत्काल उद्धारका लागि नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रे र सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वार्टरका उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय तथा उद्धार व्यवस्थापन प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ।
प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend