जन आकाश
काठमाडौं । बाल र्यापर मन्जरी तामाङको नयाँ र्याप गीत ‘दनदनी’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर मन्जरीले गीत सार्वजनिक गरेकी हुन्।
मन्जरीले आफ्नै शब्द, संगीत र आवाजमा तयार पारेको उक्त गीत मन्जरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सामाजिक सन्देश समेटिएको गीतमा मन्जरीसँगै साइड डान्सर रीना घलान, केसाङ घलान, नोर्साङ तामाङ, रुबिना श्रेष्ठ, सबिना स्याङ्बा र आशिका गौतमको अभिनय रहेको छ। गीतको भिडियोमा आनन्दकिशोर साहले कोरियोग्राफी गरेका छन्।
जन्मदिनकै अवसरमा मन्जरीले सिर्जनशील अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालयका ३० जना अपाङ्गता भएका बालबालिकालाई भोजनसमेत गराएकी छन्। जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उनले बालबालिकासँग समय बिताएकी हुन्।
सानै उमेरदेखि संगीत तथा अभिनय क्षेत्रमा सक्रिय मन्जरी विभिन्न बाल र्याप गीत तथा म्युजिक भिडियोमा काम गर्दै आएकी छन्। उनले ‘चर्चा छ चर्चा’, ‘गरिबलाई कानुन’, ‘भ्रष्टलाई फाँसी’ र ‘कथा’ लगायत सामाजिक सन्देश बोकेका गीतमा आवाज दिएकी छन्।
मन्जरीलाई सांगीतिक क्षेत्रमा अघि बढ्न उनकी आमाबाट प्रेरणा मिलेको छ । छोटो उमेरमै विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरिसकेकी उनी बाल कलाकारका रूपमा समेत परिचित छिन्। यसअघि सामाजिक विषयवस्तुमा आधारित गीतमार्फत दर्शकमाझ परिचित हुँदै आएकी मन्जरीले ‘दनदनी’ मार्फत पनि सामाजिक सन्देश प्रस्तुत गरेकी छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend