logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रसुवागढी–स्याफ्रुबेँसी सडक पुनर्निर्माणमा चीनसँग सहयोग माग्यो सरकार


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पुनर्निर्माण गरी तत्काल नाका सञ्चालनमा ल्याउन चीनसँग सहयोग मागेको छ।



पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेटवार्ता गर्दै बाढीका कारण बन्द रसुवागढी नाका सञ्चालनका लागि सडक पुनर्निर्माणमा चिनियाँ सहयोग आवश्यक रहेको बताएका हुन्।

मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ डीपीआर तयार गरी आवश्यक स्थानमा ट्र्याक खोल्ने काम अघि बढाइएको बताए।

त्यसैगरी, नेपालका अन्य उत्तरी नाका सञ्चालन तथा सीमा क्षेत्रमा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा समेत चीनसँग सहयोग र समन्वयका लागि आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा रसुवामा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, स्थानीय नागरिकको सहज आवतजावत तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनबारे पनि छलफल भएको थियो।

चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन्। उनले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माणमा विशेष अध्ययन आवश्यक रहेको बताए।

कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सकारात्मक रहेको उल्लेख गर्दै राजदूत वाङले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी नेपालबाट विशेष प्रस्ताव आए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend