logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशन तयारी तीव्र, १५ वटा समिति गठन


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारी तोकेर १५ वटा समिति गठन गरेको छ।



महाधिवेशन व्यवस्थापन, आर्थिक व्यवस्थापन, सूचना–सञ्चार तथा प्रविधि, सचिवालय, अतिथि स्वागत, स्थल व्यवस्थापन, प्रदेश तथा स्थानीय तह समन्वय, स्वयंसेवक, भोजन, आवास, स्वास्थ्य, यातायात र सांस्कृतिक–साहित्यिक व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति बनाइएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो। त्यसलाई थप व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको हो। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुँदैछ।

सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२ जना सदस्य छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव छन्।

आर्थिक व्यवस्थापन समिति को संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ रहेका छन् भने सूचना, सञ्चार र प्रविधि समिति को संयोजकमा प्रवक्ता देवराज चालिसे छन्।

त्यस्तै, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति को संयोजकमा उदयशमशेर राणा, अतिथि स्वागत समिति को संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त र महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति को संयोजकमा काठमाडौं जिल्ला सभापति तोकिएका छन्।

प्रदेश तथा स्थानीय तहगत समन्वय समिति को संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति को संयोजकमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापन समिति को संयोजकमा केन्द्रीय सदस्य गणेश लामा रहेका छन्।

त्यसैगरी, भोजन व्यवस्थापन समिति को संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापन समिति को संयोजकमा रमेशप्रसाद धमला, स्वास्थ्य समिति को संयोजकमा डा. केदारनरसिंह केसी र यातायात व्यवस्थापन समिति को संयोजकमा विजयबहादुर स्वाँर रहेका छन्।

सांस्कृतिक–साहित्यिक संयोजन समिति को संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ। साथै विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्य बनाइएको छ।

कांग्रेसका अनुसार गठन गरिएका समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्दै १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend