जन आकाश
काठमाडौं । (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षासँगै नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी प्रभावित भएका छन्।
सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा बाढी पसेपछि ७८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरू केही सामुदायिक भवनमा र केही आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार थारु टोलका केही घरमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको हो। नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार नारायणी नदीको बाढीले थारु टोलका घर, खेतबारी तथा सडक डुबानमा परेका छन्। स्थानीयका अनुसार बाढीले ठूलो क्षेत्रफलमा लगाइएको धान, उखुलगायतका बालीमा समेत क्षति पुर्याएको छ।
सुस्तामा वर्षायाम सुरु भएयता नारायणी नदीले अस्थायी बाँध कटान गर्दै आएको छ। नदी कटानका कारण सुस्ताको ठूलो भूभाग प्रभावित हुँदै आएको स्थानीयले बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend