जन आकाश
काठमाडौं । मोटरसाइकल चोरी गर्दै हिँड्ने तीन युवकलाई प्रहरीले चोरीका मोटरसाइकल, नगद तथा चोरीमा प्रयोग हुने औजारसहित काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय बेलबहादुर तामाङ रहेका छन्। उनीहरूलाई चन्द्रागिरि नगरपालिका–१ गोकुलपाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट बागमती प्रदेश ०२–०४१ प ३९३४ र बागमती प्रदेश ०२–४५ प ६७०५ नम्बरका दुई मोटरसाइकल, ५५ हजार रुपैयाँ नगद, मोबाइल तथा मोटरसाइकलको लक तोड्न प्रयोग हुने फलामका औजार बरामद गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले काठमाडौँबाट मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङमा लगेर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरीका मोटरसाइकल बिक्रीबाट प्राप्त रकम खर्च भएपछि पुनः मोटरसाइकल चोरी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend