logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गण्डक ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि, सुस्ता डुबानमा


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं ।  नेपालको त्रिवेणी र भारतको भैंसालोटन जोड्ने गण्डक ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।



आइतबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट प्रतिसेकेन्ड ४ लाख ८ हजार क्युसेक पानी प्रवाह भइरहेको छ। ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह निरन्तर बढेसँगै तल्लो तटीय क्षेत्रमा समेत बहाव खतराको तहभन्दा माथि पुगेको हो।

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले प्रतिसेकेन्ड ४ लाख क्युसेक पानीको बहावलाई खतराको सूचक मानिँदै आएको छ। अहिले ब्यारेजमा उक्त सीमाभन्दा बढी पानी प्रवाह भइरहेको छ।

गण्डकको माथिल्लो तट देवघाटमा आइतबार बिहान ९ बजे प्रतिसेकेन्ड ६ लाख २४ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ। बिहान ८ बजे देवघाटमा ५ लाख ९१ हजार २ सय र गण्डक ब्यारेजमा ४ लाख ४ हजार क्युसेक पानीको बहाव मापन गरिएको थियो। दुवै स्थानमा पानीको बहाव बढ्दो क्रममा रहेको छ।

यसअघि शुक्रबार बिहान १० बजे गण्डक ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ५ हजार ९ सय क्युसेक मात्रै पानीको बहाव मापन गरिएको थियो।

पानीको बहाव बढ्दै गएपछि शनिबारदेखि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएका छन्। बहाव बढेसँगै पश्चिम नवलपरासीको सुस्ता क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ।

स्थानीय मुन्सिकुमार हरिजनका अनुसार तीन दिनदेखि डुबानमा परेका घरहरू भत्किन थालेका छन्। सुस्तामा अधिकांश घर फुस र माटोबाट बनेका भएकाले लामो समयसम्म डुबानमा पर्दा घर भत्किने जोखिम बढेको स्थानीयको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend