logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुदूरपश्चिममा बाढी–पहिरोको जोखिम बढ्यो, सतर्क रहन आग्रह


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा लगातार वर्षाका कारण नदी, खोला तथा जलस्रोतमा पानीको बहाव बढ्न थालेपछि बाढी र पहिरोको जोखिम बढेको छ।



महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार हालसम्म प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव चेतावनी तहभन्दा माथि पुगेको छैन। तर आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ।

कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार रातिको समयमा केही नदी तथा खोलामा पानीको बहाव बढे पनि बिहान केही घटेको थियो। शनिबार दिउँसो भने केही स्थानमा पुनः पानीको सतह बढेको छ।

शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अनुमान गरिएको छ। बैतडी, दार्चुला, बझाङ र बाजुरालगायत पहाडी जिल्लामा भने वर्षासँगै पहिरोको जोखिम बढेको कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा अछाममा १५६ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ। धनगढी र अत्तरियालगायत क्षेत्रमा १५१ दशमलव ८ मिलिमिटर तथा भजनी र बेलौरी क्षेत्रमा करिब १४० मिलिमिटर वर्षा भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा १३० मिलिमिटर आसपास वर्षा भएको जनाइएको छ।

लगातारको वर्षाका कारण चुरे तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको र त्यहाँबाट बग्ने पानीले कैलाली र कञ्चनपुरका होचा तथा डुबान प्रभावित क्षेत्रमा समेत असर पार्न सक्ने शाहले बताएका छन्।

हालसम्म कैलाली र कञ्चनपुरका नदीहरूमा समेत पानीको बहाव चेतावनी तहमा पुगेको छैन। तर आइतबार र सोमबारसम्म वर्षा निरन्तर भए नदी तथा खोलाको बहाव थप बढेर चेतावनी तहमा पुग्न सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।

कञ्चनपुरका जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासन तथा सुरक्षा निकायले पूर्वतयारी थालेका छन्। केही जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

नदी तथा खोलाको आसपास बसोबास गर्ने, पहाडी क्षेत्रमा यात्रा गर्ने र डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई मौसम तथा जलस्तरमा भइरहेको परिवर्तनलाई ध्यान दिँदै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend