logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कर्णालीका १० जिल्लामा विपद् पूर्वतयारी तीव्र, प्रशासन ‘हाइअलर्ट’मा


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । कर्णाली प्रदेशका १० वटै जिल्लामा बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ।



कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको निर्णयअनुसार मौसमी विपद्बाट सर्वसाधारणलाई सुरक्षित राख्न आवश्यक जनशक्ति, सुरक्षा संयन्त्र तथा साधनस्रोतसहित सबै जिल्ला प्रशासन कार्यालय तयारी अवस्थामा राखिएको छ।

स्थानीय प्रशासनले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट जोगिन दैनिक सूचना प्रवाह गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। डोल्पा, हुम्ला, मुगु र कालिकोटका प्रमुख जिल्ला अधिकारीहरूले नदी किनार तथा भिरालो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

मुगुमा उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। कालिकोटमा रातभर तीव्र हावा चलेको तथा कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको जनाइएको छ।

जुम्लामा सिञ्जा क्षेत्रका हिमनदी किनारमा रहेका जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ। दैलेखमा पहिरोको जोखिममा परेका चामुण्डा बिन्द्रासैनी–६ का प्रभावित परिवारलाई नजिकैको विद्यालयमा आश्रयको व्यवस्था गरिएको छ।

जाजरकोट र रुकुमपश्चिममा पनि सम्भावित जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र तयारी अवस्थामा राखिएको छ। रुकुमपश्चिमको आठबीसकोटस्थित गोतामकोटमा अस्थायी बसोबासका लागि क्षेत्रसमेत तोकिएको छ।

सल्यानमा राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुल्सीपुर सडकखण्डमा पहिरो गएपछि दिउँसोसमेत सवारी आवागमन बन्द गरिएको छ। एम्बुलेन्स तथा अत्यावश्यक सेवाका सवारीलाई भने सञ्चालन गर्न दिइएको छ।

सुर्खेतमा जनघनत्व र सवारी चापलाई ध्यानमा राख्दै सुरक्षा निकाय, अस्पताल तथा रेडक्रसलाई उच्च सतर्कतामा राखिएको छ। विपद्का बेला नागरिकलाई तत्काल आश्रय दिन सामुदायिक भवन, विद्यालय र स्वास्थ्य चौकीलाई तयारी अवस्थामा राखिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाका कारण कर्णाली करिडोर, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–सल्यान तथा लुहाम–कालीमाटी सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायात प्रभावित भएको छ।

असोज ८ देखि ११ गतेसम्म प्रदेशभर रात्रिकालीन तथा लामो दूरीका सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend