जन आकाश
काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने समयमा मौसम प्रतिकूल बनेपछि किसानको वर्षभरको मेहनत प्रभावित भएको छ भने भूकम्पबाट प्रभावित भई पालमुनि बसिरहेका नागरिक थप समस्यामा परेका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार लगातारको झरी र हिमपातका कारण भत्किएका तथा चर्किएका घर र पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू चिसोमा रात बिताउन बाध्य भएका छन्।
भूकम्पबाट घरमा क्षति पुगेपछि अस्थायी रूपमा पालमा बसिरहेका नागरिकलाई वर्षा र हिमपातले थप समस्या भएको अध्यक्ष गुरुङले बताए। चिसो अत्यधिक बढेकाले उनीहरूको अवस्था कठिन बनेको उनको भनाइ छ।
वर्षा र हिमपातले बस्तीमा मात्र नभई खेतबारीमा पाकेको बालीनालीमा समेत क्षति पुर्याएको छ। बाली भित्र्याउने समयमा पानी र हिउँ परेपछि खेतबारीमा रहेको उत्पादन नष्ट भएको भन्दै किसान चिन्तित बनेका छन्।
अध्यक्ष गुरुङले विपद्को अवस्थामा सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेका छन्। वर्षा र हिमपात रोकिएपछि मात्रै क्षतिको यकिन विवरण संकलन गर्न सकिने बताइएको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend