जन आकाश
काठमाडौं । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ डुबानमा परेको छ। बाढीका कारण गाउँका धेरै घरमा पानी पसेको वडाध्यक्ष मिनराशी गुरुङले जानकारी दिएका छन्।
उनका अनुसार बस्ती डुबानमा परे पनि अहिलेसम्म स्थानीयवासीलाई सुरक्षित रूपमा विद्यालय र स्वास्थ्य चौकीको भवनमा राखिएको छ। मर्स्याङ्दी नदीको बहाव निरन्तर बढिरहेका कारण गाउँको अवस्था थप गम्भीर बन्न सक्ने उनले बताएका छन्।
लगातारको बाढीका कारण गाउँमा विद्युत् र मोबाइल नेटवर्क सेवा अवरुद्ध भएको छ। ब्याकअपका कारण केही समय विद्युत् तथा सञ्चार सेवा सञ्चालन भए पनि त्योसमेत सकिने अवस्थामा पुगेको वडाध्यक्ष गुरुङले बताए। शनिबारदेखि नै मनाङमा फोन सम्पर्क प्रभावित भएको जनाइएको छ।
बाढीका कारण तालगाउँ जाने बाटोसमेत बगेकाले प्रशासन तथा प्रहरी गाउँसम्म पुग्न सक्ने अवस्था छैन। चामेबाट समेत गाउँतर्फ आवतजावत गर्न नसकिने स्थानीयको भनाइ छ।
स्थानीय अगुवा राजन गुरुङका अनुसार गाउँका अधिकांश बासिन्दा गाउँमै रहेका छन् भने बाहिरी क्षेत्रसँग सम्पर्क हुन सकेको छैन। तालगाउँ यसअघि २०७८ सालको बाढीमा पनि पूर्ण रूपमा डुबानमा परेको थियो। केही समयअघि मात्रै बस्तीको पुनर्निर्माण सम्पन्न भएको थियो।
दुवैतर्फका आवागमन नाका ठप्प भएपछि स्थानीय सरकारसमेत संकटमा परेको छ। तत्काल उद्धार तथा आवश्यक सहयोगका लागि संघ र प्रदेश सरकारसम्म सूचना पुर्याइदिन वडाध्यक्ष गुरुङले आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend