जन आकाश
काठमाडौं । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सेती नदीको जलसतह बढेर बस्ती डुबानमा पर्ने जोखिम बढेपछि सुरक्षाकर्मीले रामघाट क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई अत्यावश्यक सामान तथा कागजातसहित सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका हुन्।
सुरक्षाकर्मीले आफू र आफ्ना परिवारका सदस्यलाई सुरक्षित राख्दै आवश्यक सामान तथा महत्वपूर्ण कागजात लिएर तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्।
प्रहरीका अनुसार गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर सुरक्षित रहेकाले जोखिममा रहेका स्थानीयलाई ती स्थानमा जान सकिने व्यवस्था गरिएको छ।
निरन्तरको वर्षाका कारण सेती नदीको बहाव तीव्र बनेपछि नदी तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ। प्रशासनले नदी किनार तथा आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान र आपतकालीन अवस्था आए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend