logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल–भारत सीमा सुरक्षा बैठक, संयुक्त गस्ती र सूचना आदानप्रदानमा जोड


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं ।  नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन तथा सीमापार अपराध नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच जोगबनीस्थित सीमा नियन्त्रण चौकी (बीसीपी) मा समन्वय बैठक बसेको छ।



भारतको ५६औँ वाहिनी सशस्त्र सीमा बल बथनाहाअन्तर्गत एफ समवाय जोगबनीको बीसीपी गेटमा आयोजित बैठकको अध्यक्षता ५६औँ वाहिनीका द्वितीय कमान अधिकारी नितिन कुमार गुप्ताले गरेका थिए। नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रकुमार भण्डारीले गरेका थिए।

बैठकमा नेपाली पक्षबाट डीएसपी सूर्यप्रकाश शर्मा, प्रहरी निरीक्षकद्वय गणेश मल र धीरज मलसहितका सुरक्षाकर्मी तथा भारतीय पक्षबाट द्वितीय कमान अधिकारी प्रवीण कुमार, एफ समवाय प्रभारी निरीक्षक हरेन्द्र सिंहलगायत अधिकारी सहभागी थिए।

बैठकमा सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा तथा कानुन व्यवस्था कायम राख्न दुवै देशका सुरक्षाकर्मीबीच संयुक्त गस्तीलाई प्रभावकारी बनाउने सहमति भएको छ। सीमापार अपराध, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि आवश्यक सूचना तथा गुप्तचर जानकारी तत्काल आदानप्रदान गर्ने निर्णयसमेत भएको छ।

त्यसैगरी सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि थप सतर्कता अपनाउने र दशगजा क्षेत्रमा कुनै पनि प्रकारको अतिक्रमण हुन नदिने विषयमा छलफल भएको थियो।

नेपाली तथा भारतीय मुद्राको अवैध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा कडा निगरानी राख्ने सहमति भएको छ। दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend