जन आकाश
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर अवरुद्ध भएका मुख्य राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। सडक विभागले मेसिन तथा जनशक्ति परिचालन गरी अवरुद्ध सडकमा यातायात सञ्चालन गराउने प्रयास गरिरहेको जनाएको छ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार पृथ्वी राजमार्ग, कान्ति राजपथ र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ। केही खण्डमा अवरोध हटाएर सवारी आवागमन सुचारु भइसकेको र अन्य स्थानमा पहिरो हटाउने काम जारी रहेको उनले बताए।
बीपी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन विभागले प्राथमिकताका साथ काम गरिरहेको छ। माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो खस्नुका साथै डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ।
बाढीले जापानी सहयोगमा निर्माण भएको करिब साढे दुई किलोमिटर सडकखण्डको डाइभर्सनसमेत बगाएपछि कामदार तथा मेसिन परिचालन गरी वैकल्पिक बाटो निर्माण भइरहेको छ। थप वर्षा नभए सडक छिट्टै सञ्चालनमा ल्याउन सकिने विभागले जनाएको छ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला तथा नाग्म–जुम्लाको राँका खण्डमा ठूला पहिरो र ढुंगा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ लोडरसहितको टोली परिचालन गरी सडक खुलाउने काम भइरहेको छ।
त्यस्तै, सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्डअन्तर्गत सोलुखोला नजिक सडक भासिएपछि ‘ब्याक कटिङ’ गरी सडक खुलाउने काम जारी छ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदो पहिरो खसिरहेको छ भने कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगरमा ठूलो पहिरो गएको छ। दुवै स्थानमा पहिरो पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि यातायात अवरुद्ध भएको छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ।
यस्तै, राप्ती राजमार्गको कपुरकोट र बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ। भालुवाङ–चकचके–लिवाङ सडकखण्डमा पहिरो हटाउँदै सावधानीपूर्वक साना सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
सडक विभागले लगातारको वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले सडक खुलाउने कामसँगै सम्भावित जोखिमको निगरानीसमेत गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend