जन आकाश
काठमाडौं । अविरल वर्षापछि मकवानपुरका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोधका घटना बढेका छन्। जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा खटिएका छन्।
हेटौँडा उपमहानगरपालिका–१६ स्थित सिर्पाली चोकनजिक धरान–चतरा सडकखण्डमा १० वटा विद्युत्का पोल जमिनबाटै उखेलिएर ढलेपछि सडक अवरुद्ध भएको थियो। नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ढलेका पोल र तार हटाएपछि बिहान ७ः२० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले ढलेका विद्युत् पोल तत्काल हटाई प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यस्तै, हेटौँडा–११ थानाभर्याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पहिरो खस्दा संरचनामा क्षति पुगेको छ। पहिरोका कारण पाथीभरा मन्दिरतर्फ जाने भित्री सडकसमेत जोखिममा परेको प्रहरीले जनाएको छ।
हालसम्म पहिरोका कारण मानवीय तथा चौपायाको क्षति भएको छैन। लगातार वर्षा भइरहेकाले मकवानपुरका अन्य जोखिमयुक्त क्षेत्रमा समेत सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend