logo आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026
logo

आइतबार, असोज ११ २०८३ | Sunday 27th September 2026

बाढीपहिरोले ४९७ मेगावाट विद्युत उत्पादन बन्द, प्रसारण लाइनमा समेत क्षति


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ। क्षतिका कारण करिब ४९७ मेगावाट क्षमताका १० वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।



प्राधिकरणका अनुसार बाढी तथा पहिरोका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी र १४ मेगावाटको मोदी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो।

नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको प्राधिकरणले जनाएको छ।

उक्त करिडोर प्रसारण लाइनमा जोडिएका आयोजनाबाट मात्रै करिब २०० मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ।

क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरुद्ध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन्।

विद्युत आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत आपूर्ति सुरु गर्ने व्यवस्था मिलाइएको उनले बताए।

क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत आपूर्ति क्रमशः पुनःस्थापना गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने श्रेष्ठले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend