जन आकाश
काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माण गर्दै आएको टिभिएस मोटर कम्पनीले नेपाली बजारमा टिभिएस जुपिटर ११० सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको संयोजनमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरिएको हो।
स्कुटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार जुपिटर ११० अत्याधुनिक इन्जिन तथा आफ्नो सेग्मेन्टमा पहिलोपटक समावेश गरिएका विभिन्न नवीन प्रविधिसहित ल्याइएको हो। यसले शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रदान गर्ने कम्पनीको दाबी छ।
टिभिएसका अनुसार जुपिटरले विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितिसकेको छ। नयाँ जुपिटर ११० मा १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
स्कुटरमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक र मोबाइल चार्जिङ सुविधा राखिएको छ। त्यस्तै, १२ इन्चका ठूला पाङ्ग्रा र उपयुक्त ह्विलबेसका कारण साँघुरो ट्राफिक तथा कम गतिमा समेत सहज र सन्तुलित यात्रा गर्न सकिने कम्पनीको भनाइ छ।
जगदम्बा मोटर्सका साहिल अग्रवाल र अखिल गुप्ताले संयुक्त रूपमा स्कुटर सार्वजनिक गरेका हुन्। जगदम्बा मोटर्स नेपालमा दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनीका रूपमा कार्यरत छ।
कम्पनीले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादन भित्र्याउँदै आएको जनाएको छ। टिभिएस मोटर कम्पनीलगायत विभिन्न विश्वव्यापी ब्रान्डको आधिकारिक डिलरका रूपमा जगदम्बाले देशभरका डिलर नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा तथा वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend