logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

स्याङ्जा । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो ।



विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए । कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,’ उनले भने, ‘अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।’

प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उनले बताए ।  कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ ।

यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend