जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्षले महाधिवेशन प्रतिनिधि चयनदेखि पार्टीका विभिन्न तहमा युवा सहभागितासम्मका विषयमा व्यवस्था तय गरेको छ।
देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा केन्द्रीय नेताहरू सम्बन्धित वडाबाट चुनाव जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था नरहने भएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
त्यस्तै, पछिल्लो निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसद र सांसदका उम्मेदवारलाई पनि सम्बन्धित क्षेत्रको प्रतिनिधिका रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ। क्षेत्रीय तथा जिल्ला सभापतिहरूलाई पनि सम्बन्धित क्षेत्रको प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
यसको विपरीत, गगन थापा नेतृत्वको कांग्रेसले भने केन्द्रीय नेताहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था नराखी वडाबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ।
देउवा पक्षले पार्टीका वडा तहदेखि सबै संरचनामा युवा सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि अघि सारेको छ। जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष वडा कार्यसमितिमा रहनुपर्नेछ। त्यस्तै, ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुष रहने व्यवस्था गरिएको छ।
प्रदेश अधिवेशन प्रतिनिधिमा पनि दुई जना युवा रहने व्यवस्था गरिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्येक क्षेत्रबाट ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुष आउने व्यवस्था छ। साथै विज्ञ र श्रमिकतर्फबाट प्रत्येक क्षेत्रबाट दुई जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था थप गरिएको छ।
देउवा पक्षले कुनै पनि तहको पदमा उम्मेदवार बन्न क्रियाशील सदस्यताको समयावधि हद लागू नहुने व्यवस्था गरेको जनाएको छ।
यसअघि विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले छुट्टै महाधिवेशन गर्न लागेको हो। गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend