logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा जेनजी अभियानी अन्सारीको प्रश्न : ‘प्रधानमन्त्रीलाई थ्रेट भए चौकीमा राख्ने हो?’


  • जन आकाश
  • सोमबार, असोज १२ २०८३

काठमाडौं । जेनजी अभियानी तथा कानुनका विद्यार्थी माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा थ्रेटका नाममा नियन्त्रणमा लिएको घटनाप्रति प्रश्न उठाएका छन्।



आइतबार सामाजिक सञ्जालमार्फत अन्सारीले सुरक्षा थ्रेटका कारण व्यक्तिलाई नियन्त्रणमा लिने हो भने भविष्यमा प्रधानमन्त्री वा गृहमन्त्रीलाई सुरक्षा खतरा भए उनीहरूलाई पनि प्रहरी चौकीमा लगेर राख्ने हो कि भन्दै प्रश्न गरेका हुन्।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा थ्रेट नभएको अवस्थामा पूर्वप्रधानन्यायाधीश जबरालाई कसरी सुरक्षा खतरा भयो भन्ने प्रश्न गर्दै थ्रेट दिने भनिएका व्यक्तिलाई अहिलेसम्म किन पक्राउ नगरिएको भन्दै सरकारसँग जवाफ मागेका छन्।

अन्सारीले नेपाल सरकारले उपलब्ध गराएका सुरक्षाकर्मीको सुरक्षा घेराभित्र रहेका पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट दिन सक्ने व्यक्ति वा समूह भए त्यसलाई किन नियन्त्रणमा नलिइएको भन्दै प्रश्न गरेका छन्।

उनले सरकारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाउँदै सुरक्षा दिन नसक्ने भए गृह मन्त्रालयको जिम्मेवारीमा बसेर काम गर्ने नैतिक आधारबारे समेत प्रश्न गरेका छन्।

यसअघि आइतबार मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। करिब बिहान ३ बजेतिर प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेटको कारण देखाउँदै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। प्रहरीले भने उनलाई पक्राउ नगरिएको बताएको थियो।

करिब १० घण्टा कार्यालयमा राखेपछि परिवारको जिम्मा लगाएर जबरालाई छाडिएको बताइएको छ। घटनापछि सुरक्षा थ्रेटको आधार, नियन्त्रणमा लिने प्रक्रिया र सरकारको सुरक्षा व्यवस्थापनलाई लिएर विभिन्न प्रश्न उठिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend