जन आकाश
-जयराम बिडारी
असोज १३,काठमाडौँ
काठमाडौंस्थित श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा दश लक्षण महापर्व तथा महामण्डल विधान धार्मिक श्रद्धा, उमंग र भव्यताका साथ सम्पन्न भएको छ। विश्वप्रसिद्ध समाधि भक्तिका रचनाकार १०८ आचार्य श्री विभव सागर जी महाराजकी परम प्रभावक शिष्या बा. ब्र. रुचि दीदी (टीकमगढ) को पावन सान्निध्यमा उक्त महापर्व भव्य रूपमा मनाइएको हो।
श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीका अनुसार महापर्वका अवसरमा दैनिक प्रभातकालीन समयमा श्री जी को अभिषेक, शान्तिधारा र नित्य नियम पूजनपश्चात् संगीतमय वातावरणमा दश लक्षण विधान मण्डल पूजा सम्पन्न गरिएको थियो।
त्यस्तै, दैनिक साँझ आयोजना गरिने संगीतमय महाआरतीपछि प्रखर वक्ता एवं वाणी भूषण बा. ब्र. रुचि दीदीद्वारा दश धर्मका विषयमा सारगर्भित शास्त्र प्रवचन प्रस्तुत गरिएको थियो। प्रवचनपश्चात् आयोजित प्रश्न मञ्च तथा भक्तिमय सांगीतिक कार्यक्रममा जैन समाजका सर्वसाधारणको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो। सुगन्ध दशमी तथा उत्तम संयम धर्मको पावन अवसरमा बिहान श्रावकहरूद्वारा धूप अर्पण एवं साँझ ४८ वटा दीप प्रज्वलन गरी भक्ताम्बर महाअर्चना सम्पन्न गरियो।
मन्दिरका कोषाध्यक्ष राजेश कालाका अनुसार पर्वका अवसरमा सम्पूर्ण मन्दिर प्रांगणलाई मनमोहक सजावट र आकर्षक बत्तीहरूले झैझल्याक बनाइएको थियो। ललितपुरका संगीतकार सुरेन्द्र, अनिल, अंकित एण्ड पार्टीको स्वर लहरीले सम्पूर्ण भक्तजनलाई मन्त्रमुग्ध बनाएको थियो। विधान पूजामा राँचीका महावीर प्रसाद जी कालाले दोहा तथा भजनहरूको शानदार प्रस्तुति दिनुभएको थियो भने सुमित जैन र पूजा दीदी (टीकमगढ) ले विधान मण्डल पूजन सम्पन्न गराउन विशेष सहयोग पुर्याउनुभएको थियो।
कमिटीका सचिव संजय गुड्डू जैनका अनुसार अनन्त चतुर्दशीका दिन वासुपूज्य भगवानको निर्वाणको पावन अवसरमा मन्दिरमा लड्डु चढाइएको थियो। यसै महापर्वका दौरान श्री अंकित जैनले ११ दिन, श्री संजय जी कालाले १० दिन र श्रीमती चाँदनी जैनले ३ दिनको कठिन तपस्या गरी धर्म प्रभावना र समाजको गौरव बढाउनुभएको छ।
सांस्कृतिक कार्यक्रम, भक्ति भजन र जयकाराले गुञ्जायमान बनेको मन्दिर प्रांगणमा सम्पूर्ण धार्मिक विधिहरू अत्यन्त भक्तिभाव, उमंग र उत्साहका साथ सम्पन्न भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend